नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ कार्तिक ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई पछाडि फर्काउन चाहने शक्ति गठबन्धन गरेर निर्वाचनमा आएको बताएका छन् । शुक्रबार गोरखा नगरपालिका–१४ स्थित याङ्कोटमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले निर्वाचनमार्फत् पश्चगामी शक्तिलाई पराजित गर्नुपर्ने बताए । ‘मुलुकलाई पछाडि फर्काउन चाहने शक्ति गठबन्धन गरेर निर्वाचनमा आएका छन्’, उनले भने, ‘त्यस्ता गठबन्धनलाई जनताले चिन्नुपर्छ ।’ त्यस्तै अध्यक्ष प्रचण्डले आगामी मङ्सिरमा हुने निर्वाचनले मुलुकमा अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला गर्ने बताए ।
आगामी निर्वाचनमा अग्रगमनको पक्षमा फैसला गर्न अपिल गर्दै प्रचण्डले अहिलेको निर्वाचन अन्य निर्वाचन जस्तो सामान्य नभएको दाबी गरे । उनले भने, अहिलेको निर्वाचन अन्य निर्वाचन जस्तो सामान्य छैन । गणतन्त्र र संविधान स्वीकार गर्ने तथा गणतन्त्र र संविधान विरोधीको लडाइँ छिनोफानो गर्ने निर्वाचन हो ।’
यस्तै प्रचण्डले आफू गोरखामा विकास र समृद्धिको सपना बोकेर चुनाव लड्न आएको बताए । ‘गोरखामा विकास र समृद्धिको सपना बोकेर आएको हुँ । यहाँका बाटाहरुलाई राजमार्गसँग जोड्ने र धुला बाटालाई पिच बनाउने तपाईंहरुसँग प्रतिवद्धता व्यक्त गर्छु’ प्रचण्डले भने ।