नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ कार्तिक ।
नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै अदालतले यस्तो आदेश दिएको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । गत सोमबार सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । सन्दीपविरुद्ध १२ वर्षको कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।
सन्दीपविरुद्ध मंगलबारदेखि भएको थुनछेक बहसपछि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइने भएको छ । मुद्दाको किनारा नलागेसम्म सन्दीप थुनामै रहने छन् । गत असोज २० गते प्रहरीले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो । लामिछाने विदेशमा नै रहेको बेला गत भदौ २१ गते एक बालिकाले आफू लामिछानेबाट बलात्कृत भएको भन्दै प्रहरी समक्ष जाहेरी दिएकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए । आरोपित लामिछानेले भने आफू निर्दोष भएको र आफूविरुद्ध झुटो आरोप लागेको भन्दै कानुनी लडाई लड्ने बताइरहेका छन् ।