अष्ट्रेलियाको सेमिफाइनल पुग्ने आशा जिवितै

अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा घरेलु टोली अष्ट्रेलियाले सेमिफाइनल पुग्ने आशा जिवितै राखेको छ । शुक्रबार भएको खेलमा अफगानिस्तानलाई ४ रनले पराजित गर्दै अष्ट्रेलियाले सेमिफाइनलमा पुग्ने आशा जिवितै राखेको हो ।

अष्ट्रेलियाको एडिलेटमा शुक्रबार भएको रोमान्चक खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्स्वेलले अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले भने मिचेल मार्शले ४५ रन बनाए । त्यस्तै मार्कुस स्टोईनिस र डेभिड वार्नरले समान २५-२५ रन जोडे । अफगानिस्तानका लागि नभिन उल हकले ३ विकेट लिए भने फजलहक फारुकीले २ विकेट लिँदा राशिद खान र मुजिब उर रहमानको भागमा समान १-१ विकेट रह्यो ।



१६९ रनको लक्ष्य लिएर मैदान उत्रेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन मात्र बनाउन सक्यो । अफगानिस्तानको लागि राशिद खानले अविजित रहँदै ४८ रन बनाए भने गुल्बादिन नाइबले ३९ रन जोड्दा रहमानउल्लाह गुरुबाजले ३० रन बनाए । यस्तै इब्राहिम जाड्रनले २६ रन बनाई आउट भए भने डार्विस रसोलले १५ रन जोडे । अष्ट्रेलियाका लागि जोश हाजलउड र एडम जाम्पाले समान २-२ विकेट लिए ।

जितसँगै समूह १ मा रहेको अष्ट्रेलिया ५ खेलमा ७ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ५ खेलमा २ अंक जोडेको अफगानिस्तान पुछारमा रहेको छ । यसैगरी हिजै भएको पहिलो खेलमा न्युजिल्याण्डले आयरल्याण्डलाई ३५ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । यस समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुंगो आज हुने इंग्ल्यान्ड र श्रीलंकाबीचको खेलले निर्धारण गर्नेछ ।

सम्बन्धित समाचार