नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कार्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा बिग्रिएको राजनीतिक बाटो सच्याउने एक मात्र पार्टी रहेको बताएका छन् । आइतबार राप्रपा नवलपुरले डन्डामा आयोजना गरेको चुनावीसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले बिग्रिएको राजनीतिक बाटो सच्याउने विकल्प राप्रपा भएकाको भन्दै एकपटक मत बदल्न आग्रह गरेका छन् । उनले आगामी चुनावमा गलत पार्टी र गलत नेतालाई हराउन आग्रह गरे । ‘देशमा नयाँ परिवर्तनका लागि मत परिवर्नत गर्नै पर्छ’, उनले भने ।
लिङ्देनले कांग्रेस–माओवादीले उम्मेदवारी दिएको सबै सिट जिते पनि बहुमत ल्याउन नसक्ने भन्दै कांग्रेस र माओवादी केन्द्र एक्लैले सय सिटमा पनि उम्मेदवारी नदिएको बताए । उनले भने, ‘कांग्रेस एक्लैले सय सिटमा पनि उम्मेदवारी दिएको छैन, माओवादी एक्लैले त ५० सिटमा पनि उम्मेदवारी दिएको छैन, एमाले र राप्रपा मात्र हो बहुमत सिटमा उम्मेदवारी दिने, जति सिटमा उठाएका छन्, कांग्रेस माओवादीहरुले त्यति सिटै जिते भने पनि बहुमत प्राप्त गर्न सक्दैनन्, अझ एक्लै सरकार बनाउन सक्दैनन् ।’