नवकान्तिपुर संवाददाता
काठमाडौं, २० कार्तिक ।
दक्षिण अफ्रिका अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटबाट बाहिरिएको छ । आइतबार भएको खेलमा नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएपछि दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको हो ।
अष्ट्रेलियाको एडिलेडमा भएको खेलमा टस हरेरा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले अविजित रहँदै ४१ रन बनाए भने स्टेफन माइबुर्घले ३७ रन जोडे । त्यस्तै टम कुपर ३५ रन बनाई आउट भए भने म्याक्स ओ’डोडले २९ रन जोडे । दक्षिण अफ्रीकाका लागि केशव महाराजले २ विकेट लिए भने एन्रिच नोर्किया र एडिन मार्क्रमको भागमा समान १-१ विकेट रह्यो ।
१५९ रनको लक्ष्यलिएर मैदान उत्रेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउन्दै १४५ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका लागि रिली रोसोले २५ रन बनाए भने हेन्रीच क्लासेनले २१ रन जोडे । यस्तै कप्तान टेम्बा बाभुमाले २० रन बनाई आउट भए भने डेभिड मिलर र एडिन मार्क्रमले समान १७-१७ रन बनाए । नेदरल्यान्ड्सका लागि ब्रान्डन ग्लोभरले ३ विकेट लिएभने फ्रेड क्लासेन र बास डे लिडको भागमा समान २-२ विकेट रह्यो ।
नेदरल्यान्ड्ससँगको हारसँगै दक्षिण अफ्रिका सुपर १२ बाटै बाहिरिएको हो । अब आजै भइरहेको बंगलादेश र पाकिस्तानको विजेता अन्तिम चारमा पुग्नेछ । दक्षिण अफ्रीका ५ खेलमा ५ अंक जोडेर समूह २ को दोस्रो स्थानमा छ भने ६ अंक जोडेको भारत भने एक खेल अगाबै सेमिफाइनल प्रवेश गरेको छ । पाकिस्तान ४ अंक जोड्दै तेस्रो स्थानमा रहँदा ४ अंक जोडेको बंगलादेश पाँचौं स्थानमा रहेको छ ।यस्तै नेदरल्यान्ड्स ४ अंक जोड्दै चौंथो र जिम्बावे ३ अंक जोड्दै पुछारमा रहेको छ ।