बंगलादेशलाई पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा

पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हो ।

अष्ट्रेलियाको एडिलेडमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । बंगलादेशका लागि नाजमुल होसेन शान्टोले ५४ रनको अर्धशतकीय पारी खेले भने आफिफ होसेन २४ रनमा अविजित रहे । त्यस्तै सौम्य सरकार २० रन बनाई आउट भए भने लिटोन दासले १० रन जोडे । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ विकेट लिए भने शादब खानको भागमा २ विकेट रह्यो ।



१२८ रनको लक्ष्य लिएर मैदान उत्रेको पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको लागि मोहमद रिजवानले ३२ रन बनाए भने मोहमद हरिसले ३१ रन जोडे । यस्तै कप्तान बाबर आजम २५ रन बनाई आउट भए भने शान मसुद २४ रनमा अविजित रहे । बंगलादेशका लागि शकिब अल हसन, मुस्ताफिजुर रहमान, एबाडोट होसेन र नसुम अहमेदले समान १-१ विकेट लिए ।

जितसँगै समूह २ को पाकिस्तान ५ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ भने समान खेलमा ४ अंक जोडेको बंगलादेश भने चौथों स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट भारत एक खेल अगाबै सेमिफाइनलमा पुगिसकेको छ भने दक्षिण अफ्रिका, नेदरल्यान्ड्स र जिम्वावे भने बाहिरिएका छन् । अहिले सुपर १२ को अन्तिम खेलमा भारत र जिम्बावे भिड्दै छन् ।

सम्बन्धित समाचार