नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ कार्तिक ।
अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा भारत समूह २ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा जिम्बावेलाई ७१ रनले पराजित गर्दै भारत समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
अष्ट्रेलियाको मेलबर्नमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले अविजित रहँदै ६१ रनको अर्धशतकीय पारी खेले भने केएल राहुलले पनि ५१ रन अर्धशतकीय इनिङ खेले । त्यस्तै विराट कोहली २६ रन बनाई आउट भए भने हार्दिक पाण्डयले १८ रन जोडे । जिम्बावेका लागि सेन विलियम्सले २ विकेट लिए ।
१८७ रनको लक्ष्य लिएर मैदान उत्रेको जिम्बावे १७ ओभर २ बलमा ११५ रनमा समेटिएको थियो । जिम्बावेका लागि रायन ब्रुलले ३५ रन बनाए सिकन्दर राजाले ३४ रन जोडे । यस्तै कप्तान क्रेइग इर्भिनले १३ र सेन विलियम्सले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।भारतका लागि रविचन्द्र आश्विनले ३ विकेट लिए भने मोहमद शामी र हार्दिक पाण्डयको भागमा समान २-२ विकेट रहँदा भुवनेश्वर कुमार, अर्शदीप सिंह र अक्सर पटेलको नाममा समान १-१ विकेट रह्यो ।
जितसँगै समूह २ को भारत ५ खेलमा ८ अंक जोड्दै शीर्ष स्थानमा रह्यो भने ३ अंक जोडेको जिम्बावे समूहको पुछारमा रह्यो । यस समूहबाट पाकिस्तान ५ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको छ । भारतको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको छ । समूह १ बाट भने न्युजिल्याण्ड समूह विजेता र इंग्ल्यान्ड समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् । अब सेमिफाइनलमा भारतले इंग्ल्यान्ड तथा न्युजिल्याण्डले पाकिस्तानको सामना गर्नेछन् ।