चुनावमा उम्मेदवारी दिएको विषयमा यसो भने पौडेलले

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन् । सोमबार तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा आयोजित कोणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

वरिष्ठ नेता पौडेलले उम्मेदवार बन्न मात्र नभई काम गर्ने दृढ सङ्कल्प बोकेर आएको बताए । ‘देशलाई अहिले सुशासन चाहिएको छ, सुशासन कायम गरेपछि विकास सम्भव छ । अहिलेको गठबन्धन नेपाललाई सुशासन दिनका लागि बनेको हो’, उनले भने ।



वरिष्ठ नेता पौडेलले आफूहरू जनतालाई ठूला सपना देखाउने पक्षमा नरहेको जिकिर गरे। ‘हामी रेल र पानीजहाजका कुरा गर्दैनौँ, जनताका आधारभूत आवश्यकताका कुरा गर्छौँ, जे कुरा गर्छौँ त्यो पूरा गर्छौँ’, पौडेलले भने । उनले कृषि क्रान्ति, पर्यटन र ऊर्जाले देश समृद्ध बन्ने बताउँदै त्यसतर्फ योजना बनाएर कार्यान्वयन गरिने बताए । ‘बन्दीपुरको पर्यटन विश्वमाझ प्रख्यात छ, यसलाई थप विकास गर्नेतर्फ हाम्रो ध्यान रहनेछ’, पौडेलले भने ।

उनले गाउँगाउँमा यातायात, बिजुली पुगे पनि रोजगारी नपुगेको भन्दै पौडेलले अब गाउँमा नै आम्दानी र रोजगारी पुर्‍याउन उद्योगधन्दा स्थापना गरिने दाबी गरे । देशलाई प्रतिगमनमा लैजाने षड्यन्त्र भएपछि पाँच दलीय गठबन्धन बनेको चर्चा गर्दै पौडेलले जनताको हातमा आएको अधिकार बचाउन सबै एकै ठाउँमा उभिएको बताए । ‘संविधान बचाउने सवालमा कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) को कुरा मिल्यो’, उनले भने । गोरखामा नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बन्दा त्यहाँ नेपाली कांग्रेसले र तनहुँमा आफूलाई नेकपा माओवादीले मत हाल्ने पौडेलको भनाइ थियो । रासस

सम्बन्धित समाचार