नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ कार्तिक ।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ । सोमबार राति भएको खेलमा रियल मड्रिड रायो भालेकानोसँग ३-२ ले पराजित हुन पुग्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको पाँचौं मिनेटमा सान्टि कमसानाले गोल गर्दै रायो भालेकानोलाई अग्रता दिलाएका थिए । तर खेलको ३७ औं मिनेटमा रियल मड्रिडका लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस्तै खेलको ४१ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियल मड्रिडलाई २-१ को अग्रता दिलाए ।
तर खेलको ४४ औं मिनेटमा राय भालेकानोका अल्भारो ग्रासियाले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ६७ औं मिनेटमा राय भालेकानोका ओस्कार ट्रेजोले गोल गर्दै टोलीलाई ३-२ को जित दिलाए । जितसँगै भालेकानो १३ खेलमा २१ अंक जोड्दै तालिकाको आठौँ स्थानमा छ भने १३ खेलमा ३२ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । जारी सिजनमा रियल मड्रिडको यो पहिलो हार हो ।