नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ कार्तिक ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन मुलुकलाई अग्रमनतर्फ लैजान गरिएको बताएका छन् । मंगलबार तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
उनले लोकतन्त्रलाई सही दिशामा अघि बढाउन, शहीद तथा सपूतको बलिदानी, त्याग, तपस्यालाई साकार पार्न गठबन्धन गर्नुपरेको स्पष्ट पारे । त्यस्तै उनले नेपालको संविधान दक्षिण एसियाकै उत्कृष्ट संविधान रहेको जिकिर गरे ।
उनले भने, ‘जात, लिङ्ग र भूगोलका आधारमा गरिने सबै प्रकारका विभेदबाट उन्मुक्ति दिने हाम्रो संविधान दक्षिण एसियाकै उत्कृष्ट छ । संविधानको संरक्षणका लागि गठबन्धन अपरिहार्य छ ।’ तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पौडेलले युवालाई स्वदेशमै आम्दानी र रोजगारी सिर्जना गर्नका लागि आफू उम्मेदवार बनेको बताए । यस्तै पौडेलले व्यास नगरपालकालाई देशकै नमूना सहर बनाउने दाबी गरे ।