टेलिकमको फाइबर सेवा अवरूद्ध हुँदा ३ जिल्लाका सेवाग्राही मर्कामा

नेपाल टेलिकमको अप्टिकल फाइबर लिंकमा खराबी आएपछि खोटाङसहित तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरूद्ध भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिंकमा समस्या आएपछि खोटाङ, सोलुखुम्बु र ओखलढुंगामा सेवा अवरूद्ध भएको हो ।

फाइबर सेवा अवरूद्ध भएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरूद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । टेलिफोन तथा इन्टरनेट सेवा अवरूद्ध भएपछि सबैभन्दा बढी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशस भा सदस्यका उम्मेदवार समस्यामा परेका छन् ।



दिक्तेलबाट करिब २१ किलोमिटर टाढा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिंकमा खराबी आएको र प्राविधिक टोलीलाई त्यसतर्फ खटाइसकिएको नेपाल दूरसञ्चार कार्यालय खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिए । ‘फाइबर सेवामा खराबी आएपछि दिक्तेल बजारमा बाइपास सेवा खुला गरिएको छ,’ उनले भने, ‘दिक्तेलबाट खटाइएको प्राविधिक टोली खराबी आएको ठाउँमा पुगिसकेकाले आज साँझसम्ममा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।’

पुरानो प्रविधिलाई पूर्णतः विस्थापित गरी नयाँ प्रविधिको सेवा दिन टेलिकमले गत वर्षको चैतदेखि फाइबर सेवा सञ्चालनमा ल्याएको थियो । टेलिकमले सञ्चालनमा ल्याएको कपर प्रविधिको इन्टरनेटमा भन्दा फाइबर प्रविधिको इन्टरनेट द्रुत गतिमा चल्ने भएपछि सेवाग्राहीसमेत लाभान्वित भएका थिए । दश स्थानीय तह रहेको जिल्लामा अहिले एनसेल मोबाइल र अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट भने सञ्चालनमा छन् ।रासस

सम्बन्धित समाचार