मन्त्री थापाको निधन

प्रदेश नं १ का वन, पर्यटन तथा भू–संरक्षणमन्त्री एवं मोरङ क्षेत्र नं ३ ‘१’का प्रदेशसभाका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । बुधबार उनको उपचारको क्रममा निधन भएको हो ।

उनको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिए । मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा ५८ वर्षीय थापाले गत असोज २३ गते निर्वाचनको मनोनयन दर्तापश्चात् स्वास्थ्यमा समस्या देखिएको थियो । थापाको स्वास्थ्यमा निमोनिया र पायल्ससमेत देखिएपछि उपचारका काठमाडौँको ह्याम्स अस्पताल लगिएको थियो ।



उनलाई स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि विराटनगर ल्याइएको थियो । उनको श्वासप्रश्वासमा समस्या भएपछि पुनः सोमबार उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिएको थियो । थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । थापाको पथरीशनिश्चरे–८ घाटमा आज दाहसंस्कार गर्ने पार्टी सचिव घिमिरेले जानकारी दिए ।

 

सम्बन्धित समाचार