चुनावी अपडेट : नुवाकोटमा गठबन्धन दलका उम्मेदवारहरू नै विजयोन्मुख

आसन्न निर्वाचनको मिति नजिकिँदै जादाँ गाउँ–शहर सबैतिर उम्मेदवारहरूको प्रचार प्रसारले तीव्रता पाएकोे छ । देश चुनावमय हुँदा अधिकांश नेताहरु घरदैलोमा केन्द्रित बनेका छन् । यसै मेसोमा नुवाकोट जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ ।

नुवाकोटमा चार दलीय गठबन्धन र नेकपा एमालेबीच नै रोचक प्रतिस्पर्धा हुने देखिन्छ । यद्दपि यसपटक स्वतन्त्र उम्मेदवारहरूप्रति पनि मतदाताहरूको मोह बढ्दै जानु र ठूला भनिएका दलहरूले चुनाव जित्नकै लागि विचार, सिद्धान्त र कार्यदिशा केही नमिल्ने साना दलहरूसँग गठजोड गर्नाले कार्यकर्ताहरूमा केही विचलन आउन सक्ने अनुमानका बीच चुनावको परिणाम कसको पक्षमा जान्छ भनेर सजिलै अनुमान लगाउन सक्ने अवस्था भने छैैन । तर पनि पछिल्लो अवस्थालाई सूक्ष्म ढङ्गले हेर्दा गठबन्धन दलहरूले नै बाजि मार्ने प्रबल सम्भावना देखिन्छ ।



नुवाकोट दुईवटा निर्वाचन क्षेत्र भएको जिल्ला हो । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा क्षेत्र नं. १ मा गठबन्धनको तर्फबाट साझा उम्मेदार माओवादी केन्द्रका हितबहादुर तामाङ्ग रहेका छन् भने नेकपा एमालेबाट बद्री मैनालीका बीच तीब्र प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रका स्थानीय मतदाताहरूका विचारमा आसन्न निर्वाचनमा गठबन्धनको पक्षमा राम्रै माहोल बनिरहेकोले तामाङको अवस्था सुदृढ रहेको बताइन्छ ।

त्यस्तै, क्षेत्र नं. २ मा गठबन्धनका साझा उम्मेदवारका रूपमा नेपाली काङ्ग्रेसका प्रभावशाली बौद्धिक नेता अर्जुननरसिंह केसी र नेकपा एमालेबाट नारायण खतिवडाका बीच चुनावी प्रतिस्पर्धा देखिए पनि नेपाली काङ्ग्रेस पार्टीभित्र अनुभवी र लोकप्रिय नेताको छवि बनाएका केसीको आसन्न निर्वाचनमा जित सुनिश्चत जस्तै बनेको बताइन्छ । केसीले मतदातामाझ ‘यो चुनाव मेरो अन्तिम चुनाव हो’ भनेर घोषणा गरिसकेकाले पनि उनले नुवाकोटमा गरेको राजनीतिक योगदानको कदरस्वरूप पनि मतदाताले यसपटक केसीलाई जिताउने अनुमान लगाइएको छ ।

विकसित र समृद्ध नुवाकोट निर्माणका लागि केसीको खाँचो रहेको नुवाकोटबासीको भनाइबाट पनि केसी सबैको रोजाइमा पर्ने सम्भावना बलियो देखिन्छ । केसी स्वयम् पनि प्रतिनिधिसभाका सदस्यको रूपमा अन्तिमपल्ट नुवाकोट जिल्लाको विकास र समृद्धिमा केही इँटा थप्न चाहेको बताउँछन् । नेपाली काङ्ग्रेसका नेता बहादुरसिंह लामाका मतमा पनि नुवाकोटको यस क्षेत्रको वस्तुस्थितिलाई नजिकबाट नियाल्दा गठबन्धनको टिम नै विजय हुने निश्चित जस्तै छ । लामाकै मतका आधारमा पनि केसीको चुनावी माहौल सकारात्मक रूपमा अगाडि बढिरहेको छ ।

प्रदेशसभा सदस्यतर्फ
दुई निर्वाचन क्षेत्र कायम भएको नुवाकोट जिल्लामा प्रदेशसभा सदस्यका लागि प्रत्येक निर्वाचन क्षेत्रमा दुई दुई क्षेत्र निर्धारण गरी चार क्षेत्र कायम गरिएको छ । प्रदेशसभा सदस्यका लागि यी चार क्षेत्रमा गठबन्धन दल, एमाले र स्वतन्त्रहरू चुनावी दौडमा सामेल भए पनि कडा प्रतिस्पर्धा भने गठबन्धन दल र नेकपा एमालेका बीच नै हुने देखिन्छ ।

निर्वाचन क्षेत्र नं. १ को पहिलो प्रदेशमा गठबन्धन दलका तर्फबाट नेपाली काङ्ग्रेसका युवा नेता रमेशकुमार महत र नेकपा एमालेका पूर्णलाल श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने बताइए पनि अन्ततः महतको पल्ला भारी हुने स्थानीयहरूको भनाइ रहेको छ । महत नुवाकोट जिल्लाको नेपाली काङ्ग्रेस पार्टीका जिल्ला सभापति पनि हुन् ।

यसैगरी दोस्रो प्रदेशमा गठबन्धनतर्फकी माओवादी केन्द्रकी युवा नेतृ राधिका तामाङ र नेकपा एमालेका सुशील खड्काका बीच प्रतिस्पर्धा हुने देखिन्छ । दुबै प्रदेशमा गठबन्धनकै जित सुनिश्चित जस्तै मानिन्छ ।

निर्वाचन क्षेत्र नं. २ को पहिलो प्रदेशमा गठबन्धन दलको तर्फबाट माओवादी केन्द्रका रामप्रसाद ढुङ्गाना र एमालेका केशव पाण्डे चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी दोस्रो प्रदेशमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका बहादुरसिंह लामा र एमालेका विजयसिंह लोप्चनका बीच भिडन्त हुने देखिन्छ ।

स्थानीय चुनावको मत परिणाम्, एजेण्डा र जनलहरका हिसाबले पनि आसन्न निर्वाचनमा नुवाकोट जिल्लामा गठबन्धनकै उम्मेदवारहरूले नै बाजि मार्ने कुरामा स्थानीयवासी ढुक्क देखिन्छन् । तैपनि चुनाव सम्पन्न भएर अन्तिम मतपरिणाम् प्रकाशन नहुञ्जेल यसै भन्न सकिन्न ।

सम्बन्धित समाचार