प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : मतदाताहरुलाई नयाँ नेतृत्व छान्ने अवसर

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरु चुनावी अभियानमा होमिएका छन् । आफ्नो पल्ला भारी पार्न विभिन्न दलहरु चुनावी सभा आयोजना गर्दै मतदाता समक्ष आफ्ना आगामी कार्यक्रमका विषय सार्वजनिक गरिरहेका छन् । नेताहरू आ–आफ्ना घोषणा पत्र र एजेण्डासहित मतदाताको घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्नो दलको विजय सुनिश्चित गर्न विभिन्न दलहरु अर्को दलहरुसँग समन्वय गरिसकेका छन् । स्थानीय तह निर्वाचनमा तालमेल गरेर निर्वाचनमा होमिएको पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि तालमेल गर्ने निर्णय गरेर चुनावमा होमिएका छन् ।

देशमा चुनावी सरगर्मी बढेसँगै टोल, गाउँदेखि चिया पसलमा पनि निर्वाचनकै चर्चा र परिचर्चा हुँदैछ । चियागफका क्रममा कुन दललाई भोट हाल्नेदेखि कसलाई जिताउने भन्ने विषयमा मतदाताहरु आआफ्नो राय प्रस्तुत गरिरहेका देखिन्छन् । ठूला राजनीतिक दलका पुराना तथा पाका नेताहरुको कार्यप्रति आजित भएका जनताहरु यसपटकको निर्वाचनमा भने युवा तथा स्वतन्त्र उम्मेदवारप्रति आकर्षित देखिन्छन् । आसन्न निर्वाचनमा मतदाताहरु हाम्रालाई नभई भिजनरी भएका र राम्रालाई छान्ने रणनीति लिएर अगाडी जाने सम्भावना देखिन्छ । चुनावमा राजनीतिक दलहरुले जनतालाई ठूला आश्वासन र असम्भव प्रायः सपना देखाउने तर पूरा नगर्ने हुनाले मतदाताहरु अहिले युवा नेतृत्वतिर आकर्षित भएका हुनसक्छन् ।



नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चालगायत दलहरूले पाका नेताहरूलाई प्राथमिकता दिएका छन् । त्यसैले आसन्न निर्वाचनमा मतदाताहरुलाई नयाँ नेतृत्व छान्ने राम्रो अवसर प्राप्त छ ।

निर्वाचन रोचक हुने अनुमान
आसन्न निर्वाचन रोचक हुने अनुमान गर्न सकिन्छ । एकातिर सत्तारुढ दलको गठबन्धन र एमाले गठबन्धन बीच प्रतिस्पर्धा हुन सक्छ भने अर्कातिर प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनाव भिड्दैछन् ।

प्रतिनिधिसभाका १६५ सिटका लागि कुल २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा उत्रिंदा स्वतन्त्रबाट युवा उम्मेदवार ३६ प्रतिशत छन् । पञ्चायतकालदेखि नै चुनाव लड्दै आएका नेताहरूसमेत प्रतिस्पर्धामा होमिएका बेला उनीहरूलाई स्वतन्त्र युवा उम्मेदवारले चुनौती दिएका छन् । त्यसैले आसन्न निर्वाचनमा सत्ता गठबन्धन, एमाले गठबन्धन र स्वतन्त्र उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ ।

मतदाताहरुलाई नयाँ नेतृत्व छान्ने अवसर
आसन्न निर्वाचनमा मतदाताहरुलाई नयाँ नेतृत्व छान्ने अवसर मिलेको छ । ठूला भनिएका राजनीतिक दलका नेताहरुले कार्यशैली प्रति असन्तुष्टि रहेका मतदाताहरुको माग भने ‘कुराभन्दा काम गर्ने नेतृत्व चाहिन्छ’ भन्ने रहेको छ । मतदाताहरूले नयाँ र असल उम्मेदवारको खाँचो रहेको बताइरहेका बेला घरदैलोमा मत माग्न व्यस्त उम्मेदवारले जनताको चाहनाअनुसार आफूहरूले काम गर्ने प्रतिबद्धता जनाइरहेका छन् ।

अतः अब उमेरले मात्र होइन, जोश, जाँगर र दृष्टिकोणका हिसाबले पनि सम्भावना बोकेका युवाहरूलाई मतदानका माध्यमबाट चुन्नबाट चुक्यौं भने लामो समयसम्म पछुताउनु पर्ने छ । आफ्ना छोराछोरीको भाग्य र भविष्य निर्माण गर्नका लागि पनि मुलुकमा युवा नेतृत्वको खाँचो छ । पार्टीको जित र नेपाली जनताको हार हुने अवस्था आउनु हुन्न ।

त्यसैले पनि नेपाली मतदाताहरूले यस निर्वाचनबाट पुराना नेताहरूलाई घरमा नै विश्राम गर्न बाध्य बनाएर युवाहरूलाई नेतृत्वमा पुर्याउन सक्नुपर्छ । सम्भावना बोकेका योग्य युवा जुनसुकै पार्टीका वा स्वतन्त्र भए पनि उनीहरूलाई मौका दिनुपर्छ । त्यसैले आफ्नो हातमा नयाँ नेतृत्व छान्ने अवसर आएको बेला त्यसको सही उपयोग पनि गर्न सक्नुपर्छ ।

सम्बन्धित समाचार