सत्ता गठबन्धनले गर्यो यस्तो अपिल

सत्ता गठबन्धनले निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठवन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउन अपिल गरेको छ । बिहीबार संयुक्त अपिल जारी गर्दै सत्ता गठबन्धनमा आवद्ध ४ दलले यस्तो अपिल गरेको हो ।

गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर रहेको संयुक्त अपिलमा संविधानको भावना अनुरूप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको उल्लेख गरिएको छ ।



गठबन्धनले कांग्रेस नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठबन्धनका पक्षमा देशभर जनलहर आएको दाबीसमेत गरेका छन् । ‘लोकतान्त्रिक वाम गठवन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ता उत्साहित भएर सहभागी हुनु भएबाट गठबन्धनको विजय सुनिश्चित रहेको हामीले महसुस गरेका छौं। यो अभियानलाई निरन्तरता दिँदै आम मतदातालाई मतदानमा सहभागी गराउन पार्टीका साथीहरु एवं शुभेच्छुकहरुमा हार्दिक अपील गर्दछौं,’ संयुक्त अपिलमा भनिएको छ ।

गठबन्धनको आह्वानमा निर्वाचनले विघटनकारी तथा प्रतिगमनका पक्षधरहरुको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्न आवश्यक रहेको पनि जनाइएको छ । अपिलिमा भनिएको छ, ‘यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरुको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नु परेको छ। यसको अर्थ संविधानको भावना अनुरुप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठवन्धनलाई विजयी गराउनु हो,’ अपिलमा भनिएको छ, ‘ तसर्थ पाँच वर्षमा हुने यो आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउनु हुन हार्दिक आह्वान गर्दछौं ।’

अपिल

अपिल

सम्बन्धित समाचार