यो चुनाव मतदाताहरूको लागि पनि अग्निपरीक्षा हो

चोक, बजार, गल्ली र चिया पसलमा भेला भएर नेताहरूले केही गरेनन् भनेर कुरा काटेर मात्र केही हुनेवाला छैन । देशमा महसुस हुने गरी परिवर्तनको कामना गर्ने हो भने एकपल्ट पुनः जनताको हातमा अधिकार आएको छ, यसको सदुपयोग गर्न नचुकौं । जसले केही गर्न सक्तैनन् भनेर थाहा पाउँदा पाउँदै पनि फेरि तिनै निकम्मालाई आफ्नो अमूल्य मत दियौं भने परिवर्तनको सपना कम–से–कम हाम्रो पालामा सम्भव हुँदैन ।अनि,  निकम्माहरूलाई जिताएर काम गरेनन् भन्ने हाम्रो नैतिक धरातल पनि रहने छैन । अतः यो चुनाव आम मतदाताहरूका लागि पनि अग्निपरीक्षा हो ।

देश बदल्न चाहने हो भने मतदाताले पहिला आफ्नो पुरातन सोच बदल्न सक्नुपर्छ । सोच बदलिए मत बदलिने छ र मत बदलिए देशको भाग्य र भविष्य बदलिने छ । त्यसैले देशको भाग्य र भविष्य बदल्ने हो भने प्रत्येक मतदाताले त्यसको थालनी आफैंबाट गर्नु पर्छ । र, यो शुभ कार्य आरम्भ गर्ने साइत मंसिर ४ गते हो ।



भ्रष्ट, निकम्मा, दूरदृष्टि नभएका तथा विकास र समृद्धिका बाधक भनेर चिनिएकालाई यसपटक बदलेर हेरौं । पटक पटक सत्तामा पुगेर पनि सिन्को नभाँच्नेहरूको शब्दजालमा परेर वा दवाव र प्रभावमा परेर पुनः उनीहरूलाई नै चुन्नु भनेको आफ्नो खुट्टामा आफैं बन्चरोले हान्नु मात्र होइन, आफ्ना सन्तानको भविष्यमाथि खेलबाड गर्नु पनि हो । त्यसैले पनि यसपटक खराबहरूमध्येबाट कम खराबलाई छान्ने अवसर प्राप्त छ । कतिपय युवा उम्मेद्वारहरू त देशको लागि ठूलो सम्भावना बोकेर चुनावी मैदानमा उभिएका छन्, उनीहरूलाई मौका दिएर हेरौं । तपाई हाम्रो एउटा मतले देशले नयाँ गति पाउन सक्छ ।

विद्युत प्राधिकरणको प्रमुख हुनुपूर्व कुलमान घिसिङको नाम कसैले सुनेका थिएनन् । दशौं वर्ष देश लोड सेडिङ मुक्त हुँदैन भनेर हौवा फिँजाएको बेला उनले देशलाई लोड सेडिङ मुक्त गरेर देखाइदिए । चुनाव जित्नु पूर्व बालेन शाह र हर्क साङ्पाङलाई पनि धेरैले चिनेका थिएनन् । चुनाव जिलेपछि छोटो समयमा नै उनीहरूले आ–आफ्नो क्षेत्रमा उदाहरणीय काम गरेर देखाइदिए । राष्ट्रिय राजनीतिमा चिनेको अनुहार आउनुपर्छ भन्ने केही छैन । अब्बल काम गरेर उनीहरूले आफूलाई चिनाउने छन् । तर मौका त तपाई हामीले नै दिने हो ।

सम्बन्धित समाचार