नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ मंसिर ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । देशैभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमतदान सुरु भएको हो ।
मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगिसकेका छन् । मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो । मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ । आफ्नो जनप्रतिनिधि छनोटका लागि मतदाता मतदान केन्द्रमा पुगी लामवद्ध भइरहेका छन् ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा बेग्लाबेग्लै मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नुपर्नेछ ।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार देशभरबाट सो संख्यामा मतदाताले मतदान गर्न पाउने छन् ।
जसमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेका आयोगको तथ्याङ्कमा उल्लेख छ । उक्त प्रदेशमा कूल ३४ लाख ७१ हजार ४९२ जना मतदाता छन् । जसमध्ये १७ लाख ३८ हजार ०८७ पुरुष, १७ लाख ३३ हजार ३७८ महिला र २७ अन्य मतदाता रहेका छन् ।
प्रदेश १ मा कूल ३३ लाख ९६ हजार ८६५ मतदाता छन् । जसमध्ये १७ लाख २९ हजार ७७२ पुरुष मतदाता छन् भने १६ लाख ६७ हजार ७१ महिला र २२ जना अन्य मतदाता छन् । मधेस प्रदेशमा १८ लाख २७ हजार ८५४ पुरुष, १५ लाख ५८ हजार ७०४ महिला र ७० अन्य गरी कूल ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन् ।
कूल ३२ लाख २९ हजार ६३७ कूल मतदाता रहेको लुम्बिनी प्रदेशमा १६ लाख ३७ हजार १३२ पुरुष, १२ लाख १२ हजार ४७१ महिला र ३४ अन्य मतदाता छन् । गण्डकीमा ८ लाख ८२ हजार ३२९ पुरुष, ९ लाख ३५ हजार २०१ महिला र ११ अन्य गरी कूल १८ लाख १७ हजार ५४१ जना मतदाता रहेको आयोगले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा ८ लाख १५ हजार २१२ पुरुष, ८ लाख ४२ हजार ७७४ महिला र १८ अन्य गरी कूल १६ लाख ५८ हजार ४ मतदाता रहेका छन् । यस्तै, कर्णाली प्रदेशमा कूल १० लाख ८ हजार ४०३ जना मतदाता छन् । जसमध्ये ५ लाख १० हजार ४२० पुरुष, ४ लाख ९७ हजार महिला र ३ जना अन्य मतदाता रहेका छन् । यो नेपालकै कम मतदाता रहेको प्रदेश पनि हो ।