नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १५ भित्र एमालेको बहुमतको सरकार बन्ने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति माविको मतदान केन्द्रबाट मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले आगामी मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरुसँग मिलेर सरकार बनाउने बताए । ओलीले आजको दिन देशकै लागि महत्वपूर्ण रहेको भन्दै मतदान गर्न बाँकी रहेका मतदाताहरूलाई मतदान गर्न पनि आग्रह गरेका छन् ।
उनले रौतहट, रोल्पा, चितवन लगायतका स्थानमा केही घटना भए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको आफूले पाएको बताए । ओलीले अप्रिय घटना भएका ठाउँमा निर्वाचन सुसम्पन्न हुन नसके पुन: मतदान गर्नुपर्ने बताए । अध्यक्ष ओलीले भने,‘जनतालाई आम निर्वाचनमा सहभागि हुन आग्रह गर्दछु । म अहिले यत्ति भन्छु, मनपरेको पाटीमा उम्मेदवारलाई भोट हाल्न र मताधिकार प्रयोग गर्न आग्रह गर्दछु । निर्वाचनपछि एमालेले बहुमत ल्याउनेमा म विश्वस्त छु । मंसिर १५ गतेसम्म एमालेको बहुमतको सरकार बन्छ ।’