मतगणनाको प्रारम्भिक सङ्केत : नयाँप्रति मतदाताको आशा

देशैभरि मतगणना जारी छ । हालसम्मको अवस्था हेर्दा धेरै ठाउँमा स्वतन्त्रहरू वा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता कायम गरिरहेका छन् । यस निर्वाचनमा मतदाताहरूले ठूला भनिएका दलका पुराना अनुहारलाई अस्वीकार गर्न आरम्भ गरेको सङ्केत गरेका छन् । विशेषगरी जनतामा भ्रम छरेर पटक पटक सत्तामा पुग्ने गरेका र सत्तामा पुगेपछि दलगत स्वार्थमा भुलेर जनतासमक्ष गरेका वाचा बिर्सने गरेका नेताहरूलाई यसपटक मतदाताहरूले सबक सिकाएको आभास पाइन्छ ।

ठूला दलका पुराना अनुहारहरूबाट आजित मतदाताहरू अब उनीहरूबाट मुलुकको विकास र समृद्धि सम्भव छैन भन्ने निष्कर्षमा पुगेको अनुमान गर्न सकिन्छ । केही अगाडि मात्र दर्ता भएको रवि लामिछाने अध्यक्ष रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले मुलुकभरिमा पाइरहेको विश्वासको मत र अग्रतासमेतलाई ध्यान दिँदा मतदाताहरू नयाँ र युवा सोचबाट धेरै आशावादी भएको बुझ्न सकिन्छ ।



रवि लामिछाने एउटा सञ्चारकर्मीका रूपमा बहुचर्चित बनेका थिए । एउटा सञ्चारकर्मीले चाह्यो भने कतिसम्म गर्न सक्छ भनेर उनी उदाहरण पनि बनेका छन् । उनका तर्क, खरो अभिव्यक्ति र सहयोगी भावना जनताको मन जित्न पर्याप्त बन्यो । उनको निडरपन, उनले प्रस्तुत गरेको मुलुकको विकास र समृद्धिको खाका, जुझारुपन आदिलाई देखेर मतदाताहरूले उनको पार्टीलाई नयाँ भए पनि पत्याए र उनको पार्टीलाई मुलुकभरिबाट असाधारण रूपमा विश्वासको मत दिए् । त्यसैले उनी राष्ट्रिय राजनीतिमा तेस्रो शक्ति हुने पक्कापक्की जस्तै देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीपछि युवा अध्यक्ष राजेन्द्र लिङ्देन रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति पनि जनता आशावादी भएको देखिन्छ । उनको क्रेज पनि कम देखिएको छैन । उनको अभिव्यक्ति र कार्यशैली देखेर पनि जनमत उनीबाट आशावादी देखिएका हुनसक्छन् ।

मतदाताहरू ठूला दलहरूसँग भन्दा पनि पुराना अनुहारसँग वाक्क भएको गगन थापा, विश्वप्रकाश शर्मा तथा प्रदीप पौडेलजस्ता युवा नेताको लोकप्रियताले देखाउँछ । नेपाली काँग्रेसजस्तै अरू राष्ट्रिय दलहरूमा रहेका युवा उम्मेदवारहरूमा पनि धेरै जनअपेक्षा देखिन्छ । चुनावपछि उनीहरू पनि परीक्षा आरम्भ हुनेछ । ‘बरू बूढाहरू नै ठिक रहेछन्’ भन्न नदिन आगामी दिनहरूमा युवाहरूले आफूलाई अब्बल सावित गर्नुपर्ने छ । विकास समृद्धिका सवालमा सिङ्गो मुलुकको साथ र समर्थन रहनेछ ।

स्वागत नेपाल र सागर ढकालजस्ता अन्य स्वतन्त्र उम्मेद्वारहरूले पाएको मतलाई समेत विश्लेषण गर्दा पनि मतदाताहरू ठूला भनिने दलहरूको हठ र निकम्मापनबाट वाक्क भएर नयाँ क्षितिजको खोजीमा रहेको अनुमान गर्न सकिन्छ । सागर ढकालले पाएको अभिमत र जनविश्वासलाई पनि कम आँक्न सकिन्न । उनले हारेर पनि जितेका छन्, एउटा सकारात्मक बहसको आरम्भ गरेका छन् ।

सम्बन्धित समाचार