नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ मंसिर ।
सुनसरी क्षेत्र नं. –३ मा नेपाली काङ्ग्रेसका विजयकुमार गच्छदार पराजित भएका छन् l त्यहाँबाट नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन् । चौधरी गच्छदारलाई ५ हजार १८८ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् ।
चौधरीले ४० हजार ७८८ मत पाइन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए ।
यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् । २०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा भने देखिने छैनन् ।
एमाले नेतृ भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छदार उनै चौधरीसँग यो पटकको निर्वाचनमा पराजित भएका हुन् ।