सत्ता गठबन्धनको बैठकले गर्यो यस्तो निर्णय

सत्ता गठबन्धनको बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले गठबन्धनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकाल्दै मुलुकका सामु विद्यमान चुनौतीहरूलाई सामान गर्न गठबन्धन वर्तमान समयमा पनि आवश्यक रहेको निष्कर्ष निकालेको हो ।



गठबन्धनको बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको उल्लेख छ ।

“निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिए । निर्वाचनका दौरानमा देखिएका ती असमझदारीहरूको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिनेछ’, शीर्ष नेताहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी बैठकले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैलाई विज्ञप्तीमार्फत धन्यवाद पनि व्यक्त गरेको छ । त्यस्तै बैठकले मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको पनि बताएको छ । प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा हुँदा र समानुपातिक मतको ट्रेन्ड हेर्दा गठबन्धनको पक्षमा उत्साहजनक मत नआएको गठबन्धनको निष्कर्ष छ ।

विज्ञप्तीमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

यसका साथै साथै शान्तिपूर्ण रूपले निर्वाचन सम्पन्न गरेकामा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै बैठकले निर्वाचन आयोग, निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा सहभागी राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकलगायत सबैप्रति धन्यवाद व्यक्त गरेको छ ।

विज्ञप्ति

सम्बन्धित समाचार