नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ मंसिर ।
मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नु पर्ने विषय उठेको छ। । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो विषय उठेको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अहिलेको मौद्रिक नीति र बैंकले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका हुन् ।
सरकारले यो विषयमा निकास ननिकाले उद्योग व्यवसाय र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने धारणा मन्त्रिपरिषद् बैठकमा राखेको गृहमन्त्री खाँणले जानकारी दिए । मौद्रिक नीति र बैंकको ब्याजदरका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएपछि धेरै उद्योगी व्यवसायीले सरकारले हस्तक्षेप गर्नुपर्ने धारणा तीन मन्त्रीले मन्त्रिपरिषद् बैठकमा राखेका हुन् ।
तीन मन्त्रीको धारणापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने र उद्योग व्यवसायलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको भएको बताए । अहिलेको मौद्रिक नीति र चर्को ब्याजदरका कारण मुलुकको अर्थतन्त्र र राजश्वमा गम्भीर प्रभाव पार्नेबारे आफू जानकार रहेको र सबै पक्षसँग सम्वाद गरेर समस्याको समाधान निकाल्ने प्रधानमन्त्री देउवाले बैठकमा बताए ।
गलत मौद्रिक नीतिका कारण आफूले व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको भन्दै उद्योगी व्यवसायी सम्बद्ध संगसस्थाले प्रधानमन्त्री देउवा र मन्त्रीको पटक पटक ध्यानाकर्षण गराउदै आएका छन् । त्यस्तै बैठकमा सरकारले प्रतिबन्धित वस्तु आयात खुलाउने निर्णय पनि गरेको छ। सरकारले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध लगाउँदै आएको थियो । विदेशी मुद्रामा सञ्चितिमा संकट देखिए पछि सरकारले गत वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो ।