नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ मंसिर ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किदै छन् । सङ्घीय संसद सचिवालयले जबरा विरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र सर्वोच्च र न्याय परिषद्लाई पठाएपछि उनी आज (बुधबार) सर्वोच्च फर्किन लागेका हुन् ।
सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश जबरामाथि तत्कालीन संसद्ले लगाएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी दिएका छन् । २०७८ फागुन १ गते सत्तारूढ दलका सांसदहरूले विभिन्न २१ आरोप लगाएर महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए । उनले आफू सर्वोच्च अदालत जाने भएपनि इजलासमा नबस्ने र अन्य प्रशासनिक काम पनि नगर्ने बताएका छन् ।
‘मलाई संसद सचिवालयले महाभियोग निष्प्रभावी रहेको पत्र दिइसकेको छ । म सर्वोच्च अदालत जाने तयारीमा छु ’ जबराले भने । जबराले महाभियोग निष्प्रभावी भएको पत्र बुझिसकेका छन् । उनकाे कार्यकाल मंसिर २८ सम्म छ । बुधबार संसद सचिवालयले निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिएको हो । यसअघि जबराले गत सोमबार संसद् सचिवालयमा ‘महाभियोग निष्प्रभावी भएको जानकारी गराई पाउँ’ भन्दै निवेदन दिएका थिए ।
‘’महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेस, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मङ्सिरमा नयाँ प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेकाले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्रसमेत निष्प्रभावी भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछु । प्रधानन्यायाधीशको नियमित कार्य सम्पादन गर्नका लागि उहाँले दिनुभएको निवेदनको छायाँ प्रति यसै साथ संलग्न रहेको छ ’ संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा जारी पत्रमा उल्लेख छ ।
यस्तो छ पत्र :