नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । शुक्रबार बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पौडेलले सरकारबारेको प्रश्नमा पार्टीले कुनै पनि दलसँग छलफल नगरेको स्पष्ट पारे । उनले जनमतका हिसाबले एमाले ठूलो पार्टी भएपनि श्रेष्ठताका हिसाबले दोस्रो भएको प्रष्ट पारे । उनले भने, जनमतका हिसाबले एमाले ठूलो पार्टी हो तर श्रेष्ठताका हिसाबले दोस्रो भएका छौँ त्यसैले हामी सरकारमा जाँदैनौँ ।’
पौडेलले बहुमत नपुगेपछि त्यसका लागि कुनै पहलकदमी नलिएको भन्दै सरकार दल विशेषको नहुने धारणा राखे । रुपन्देही क्षेत्र नं २ का प्रतिनिधसभा सदस्यसमेत रहेका पौडेलले एमालेको नेतृत्वमा सरकार बन्नु र नबन्नुले रुपन्देहीको विकासलाई असर नगर्ने उल्लेख गरे । ‘जसको नेतृत्वमा सरकार बने पनि हामी रुपन्देहीको विकासलाई रोकिन दिँदैनौँ, सुरु भएका योजना पूरा गरेर छोड्छौँ’, उनले भने ।