मोरक्को र फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा, सेमिफाइनल समीकरण पूरा

मोरक्को र फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको क्वाटरफाइनलको पहिलो खेलमा मोरक्कोले पोर्चुगललाई १-० ले र दोस्रो क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ ले पराजित गरेको हो ।

मोरक्को



कतारको अल थुमामा स्टेडियममा भएको निकै प्रकिस्पर्धत्मकखेलमा मोरक्कोलाई जित दिलाउन युसेफ एन नेसरीले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा एटिया अल्लाहको पासमा नेसरीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा थप समयमा दुबै टोलीबाट गोल भएन र खेल मोरक्कोले १-० ले आफ्नो पक्षमा पार्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्यो ।

यद्यपि दुबै टोलीले दोस्रो हाफमा गोल गर्ने सुन्दर अवसर खेर फालेका थिए । त्यसअघि खेलको इन्जुरी समयमा मोरक्कोका वालिड चेडिराले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटिएको थियो ।

पोर्चुगल

जितसँगै मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गर्दै विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्दै इतिहास रचेको छ । अब मोरक्कोले फाइनल प्रवेशको लागि फ्रान्ससँग खेल्नेछ । पोर्चुगल भने विश्वकपबाट बाहिरिएको छ ।

त्यसैगरी शनिबार राति भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले समान १-१ गोल गरे भने इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले एक गोल फर्काए ।

फ्रान्स

कतारको अल बायत स्टेडियममा भएको खेलमा खेलको १७ औं मिनेटमा एन्टोनियो ग्रीजम्यानको पासमा चुवामेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा खेलको ५४ औं मिनेटमा इंग्ल्यान्डका केनले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए । फ्रान्सका चुवामेनीले बुकायो साकालाई पेनाल्टी क्षेत्रमा लडाएपछि इंग्ल्यान्डले पेनाल्टीपाएको थियो । यस गोलसँगै केनले वायन रुनीको नाममा रहेको इंग्ल्यान्डका लागि सर्वाधिक ५३ गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका छन् ।

तर खेलको ७८ औं मिनेटमा जेरुडले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए । त्यस्तै खेलको ८४ औं मिनेटमा इंग्ल्यान्डले बराबरी गर्ने अवसर खेर फालेको थियो । फ्रान्सका थियो हर्नान्डेजले मासन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि इंग्ल्यान्डले दोस्रो पटक पेनाल्टी पाएको थियो । तर, केनको पेनाल्टी प्रहार बाहिरिएको थियो । त्यसपछि दुबै टोलीबाट गोल भएन र खेल फ्रान्सले २-१ ले आफ्नो पक्षमा पार्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्यो । अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्को पोर्चुगललाई हराएर सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

इंग्ल्यान्ड

सेमिफाइनल समीकरण पूरा
कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

जारी विश्वकपमा क्रोएसिया, अर्जेन्टिना, मोरक्को र फ्रान्स अन्तिम चारमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच आगामी मंगलबार र दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधार प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दा क्रोएसियाले ब्राजिललाई हराएको थियो । त्यस्तै मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई स्तब्ध पार्दा फ्रान्सले इंग्ल्यान्डलाई पराजित गरेको थियो ।

सम्बन्धित समाचार