नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।
प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ ।
आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबारै सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।
उनले प्रदेश सभा सदस्यतर्फ समावेशी सूचीमा क्षेत्रगत समस्या देखिएको भन्दै प्रदेश सभामा रहेको क्षेत्रगत (क्लस्टर)को त्रुटि सुधारका लागि सम्बन्धित राजनीतिक दललाई पत्र पठाएर सोमबार अपरान्ह ४ बजेसम्ममा सच्याउन भनिएको बताए । ‘प्रतिनिधि सभा सदस्यको सूचीमा समस्या छैन । प्रदेश सभा सदस्यको समानुपातिकको सूची सच्याउन सोमबार अपरान्हसम्मको समय दिइएको छ । त्यसपछि आवश्यक निर्णय गरेर सूची सार्वजनिक गरिने छ’ वाग्लेले भने ।
समानुपातिकको सूची सच्याएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने र प्रमाणपत्र वितरण गर्नेछ । वाग्लेले समानुपातिक सूची घोषणापछि एक साताभित्र प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने जानकारी दिए । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएपछि समानुपातिक सदस्यमा प्रतिनिधि सुनिश्चित गरेका छन् ।
त्यस्तै प्रदेश सभामा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, जनमत, राप्रपासँगै नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, हाम्रो नेपाली पार्टी र राष्ट्रिय जनमोर्चाले समानुपातिक सदस्यमा प्रतिनिधित्व सुनिश्चित गरेका छन् ।