नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले ल्याएको अध्यादेश ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै यो त कास्टिङ मात्र रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सरकारको यो कदमलाई कास्टिङको संज्ञा दिएका हुन् ।
भट्टराईले सरकारको पछिल्लो निर्णयले मुलुकमा अपराधीकरणलाई बढावा दिएको बताएका छन् । ‘रेशमको नाम, अफ्ताबको काम, राजनीतिमा अपराधीकरण, अपराधको राजनीतिकरण, देश भाँडमा जाओस् कि व्यवस्था बदनाम होस्, के मतलब ’ भट्टराईले फेसबुकमा लेखेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो । बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
उनले फेसबुकमा लेखेका छन्, ‘रेशमको नाम, अफ्ताबको काम, राजनीतिमा अपराधीकरण अपराधको राजनीतिकरण देश भाँडमा जाओस् कि व्यवस्था बदनाम होस् के मतलब गठबन्धन रहुन्जेल यो त कास्टिङ मात्र हो पूरा सिरिज त आउन बाँकी नै छ !’