जापानले कांग्रेसका वरिष्ठ नेता पौडेललाई राजकीय सम्मान प्रदान गर्दै

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गर्न लागेको छ । आज (बिहीबार) अपरान्ह ३ बजे जापानी दूतावासले पौडेलकै निवासमा विशेष कार्यक्रम गरी सम्मान प्रदान गर्न लागेको हो ।

नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘अर्डर अफ द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो । उक्त सम्म जापानी सम्राट मेइजिले सुरु गरेका थिए ।



विश्वका विशिष्ट व्यक्तिहरूलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक विल गेट्स थिए ।वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्ष समेत रहेका थिए । उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवर्द्धनमा पनि सक्रिय रूपमा संलग्न थिए ।

जापान र अन्य देशबीचको राजनीति र कूटनीति, अनुसन्धान र शिक्षा, चिकित्सा तथा समाज कल्याण, अर्थतन्त्र र उद्योग, संस्कृति र खेलकुद जस्ता क्षेत्रमा सम्बन्ध प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वलाई पनि यो सम्मान प्रदान गरिन्छ । पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गर्ने छन् । पौडेल नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए ।

सम्बन्धित समाचार