प्रचण्डले प्रधानमन्त्रीकै लागि सबै विषय दाउमा राख्दिनँ भनेपछि…

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीका लागि सबै विषयमा दाउमा राख्ने पक्षमा नरहेको बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल चितवनले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धनभित्रैबाट प्रधानमन्त्री चयन हुने भन्दै कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे गठबन्धनबाटै टुङ्गो लाग्ने बताए । ‘मैले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन’ प्रचण्डले भने । त्यस्तै उनले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताएका छन् ।



उनले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताए । प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट प्रधानमन्त्री चयन हुने स्पष्ट पारे । प्रचण्डले भने, ‘समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ । समझदारीबाट अरुनै हुन पनि सक्छ ।’ गठबन्धनका बीचमा यसअघि लिखित औपचारिक रुपमा केही नभएको भन्दै उनले भने, ‘गठबन्धन गर्दा आलोपालो गर्ने कुरा भएको हो, अहिले पनि यो समझदारी छ ।’

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख तत्काल टुङ्गाउनुपर्ने भन्दै उनले सबैलाई प्याकेजमानै टुङ्गो लगाउने समझदारी भएको बताए । अध्यक्ष दाहालले आफैंँ प्रधानमन्त्रीको रेसमा कुद्ने काम नगरेको स्पष्ट पारे । उनले भने, ‘जिम्मेवारी आयो भने लिने काम हुन्छ ।’ राष्ट्रपति गैर राजनीतिक व्यक्ति हुने स्थिति नभएको स्पष्ट पार्दै उनले गठबन्धनभित्र या राजनीतिक दलहरु कसैसँग पनि यो विषयमा छलफल गरेका छैनौँ भने । त्यो अहिले सम्भव पनि नरहेको उनको भनाइ थियो ।

नेकपा एमालेसहित अन्य दलहरुसँग सबैको कुराकानी भइरहेको भन्दै उनले नयाँ बनेका पार्टीसँग पनि छलफल भइरहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग दुई तीन पटक कुरा भएको भन्दै उनले सिके राउत र रेशम चौधरीसँग पनि भेट गरेको बताए । अध्यक्ष प्रचण्डले माओवादीले एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य नभएको पनि बताए ।

 

सम्बन्धित समाचार