गगन नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार, प्रस्तावकमा शेखर

संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवार बन्ने भएका छन् । आज (मंगलबार) बिहान होटल एम्बास्डरमा बसेको थापा र डा. शेखर कोइराला पक्षको बैठकमा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

महामन्त्री थापाले संसदीय दलको नेतामा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध डा. शेखर कोइराला समूहको समर्थनमा उम्मेदवारी दिने भएका छन् । संसदीय दलको नेतामा डा शेखर कोइरालाले पनि उम्मेदवारी दिने तयारी भएपछि डा. कोइरालासँग महामन्त्री थापाको सोमबार र मंगलबार दुई दिन भएको छलफलपछि गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।



थापाको प्रस्तावकमा नेता शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहने भएका छन् । थापाले निर्वाचन अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै निर्वाचन लगत्तै संसदीय दलको निर्वाचनको तयारी थालेका थिए । कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।

सम्बन्धित समाचार