कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु

सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । आज (बुधबार)मतदान बिहान ८ बजेदेखि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सुरु हुने भनिए पनि बिहान ८ः४५ बजेदेखि मतदान सुरु भएको हो ।

मतदान बिहान १० बजेसम्म हुने कांग्रेस संसदीय दल निर्वाचन समितिले जनाएको छ । कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले मतदान समाप्त भएपश्चात आजै मतगणना र निर्वाचन परिणामको घोषणा हुने जनाएको छ । यस निर्वाचनका मतदाता पार्टीका प्रतिनिधिसभा सदस्य हुन् ।



नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका हुन् । सभापति देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक उपसभापति पूर्णबहादुर खड्का छन् भने महामन्त्री थापाको प्रस्तावकमा डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल रहेका छन् ।

थापाले निर्वाचन अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गर्दै निर्वाचन लगत्तै संसदीय दलको निर्वाचनको तयारी थालेका थिए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी हासिल गरेको थियो ।

कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले संसदीय दलको नेताको निर्वाचन महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।

 

सम्बन्धित समाचार