यो पराजय गगन थापा एक्लैको मात्र होइन्…

नेपाली काङ्ग्रेसको संसदीय दलको नेताको चयनमा गगनकुमार थापा पराजय हुन पुगेका छन् । तर यो उनको मात्र पराजय भने होइन । यो पराजय देशमा रूपान्तरण चाहने, नागरिकको अवस्थामा परिवर्तन भएको हेर्न चाहने तथा नयाँ पुस्ताले नयाँ गतिले मुलुकको विकास र समृद्धि भएको हेर्न चाहने सबैको पराजय हो ।

अङ्कगणितीय हिसाबले शेरबहादुर देउवा नेपाली काङ्ग्रेस पार्टीको संसदीय दलको नेता बने । अब प्रधानमन्त्री पनि बन्लान्, उनका आसेपासेले लाभका पदहरू पाउलान्, भ्रष्टाचारको पारो अलिक माथि पुग्ला, आरजुको थप चुरिफिरी बढ्ला, प्रधानमन्त्रीका लागि प्रचण्ड, माधवहरूसँग सौदाबजी होला, बस् देउवाको पालामा हुने भनेको यत्ति हो ।



जगजाहेर छ– देउवामा नयाँ युगलाई सम्बोधन गर्ने न क्षमता छ, न भिजन नै । उनले जे गरे, हिजोका दिन गरे, अबको युगलाई उनको सामथ्र्यले भ्याउँदैन । जसले पाँच पाँच पटक प्रधानमन्त्री हुँदा उल्लेखनीय केही गर्न सकेन, उसले अब के गर्ला भनेर नेपाली जनताले अपेक्षा गर्ने ? विगतलाई हेर्ने हो भने पनि जसका पाउमा लगेर प्रजातन्त्रको दाम चढाएका थिए, उसैले अक्षम भनी सत्ताच्युत गरिएका हुन् उनी ।

कार्यकर्ताको दास मनोवृत्ति देउवाको बल
रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला पनि सामान्य पार्टीका कार्यकर्ताभन्दा माथि उठ्न सकेको देखिएन । यिनीहरूमा पनि नयाँ पुस्ताप्रति आग्रह रहेको देखियो । देश र जनताको आशा र अपेक्षा भाँडमा जाओस तर गगनलाई नेता मान्नुभन्दा त देउवा नै ठीक भन्ने सोच राख्दा पुस्तान्तरणको मुद्दा कमजोर बन्यो । कार्यकर्ताको यो दास मनोवृत्ति नै देउवाको लागि आत्मबल बनेको देखियो । जबसम्म पार्टीभित्र दास मनोवृत्तिले जरा गाडेर बसेको हुन्छ, तबसम्म पार्टी जीवनमा नयाँपन आउन सक्तैन । गगन, विश्वप्रकाश, प्रदीप, धनराजहरूजस्ता केही गरौं भनेर लागिपरेका तथा सम्भावना बोकेका युवाहरूसमेत अल्पमतमा परेपछि उनीहरूभित्रको उत्साह र सपना पनि बेवारिसे बन्ने अवस्था देखियो । देउवाको अहम्ले उनीहरूसँग मिलेर जाने अनुमति नै दिँदैन ।

रूपान्तरणको अपेक्षासहित आजको दिनलाई तीव्र प्रतिक्षा गरेर बसेका मतदाताहरू निराश बनेपनि दास मनोवृत्तिकाहरूले भने आज रक्सीको चुस्कीसँगै खुसीयाली मनाउन सक्छन् । गठबन्धनका दलहरूले पनि सन्तोषको सास फेर्न सक्छन् । राज्यको ढुकुटी दोहन गर्न र लाभका पदहरू लिलाम गर्न पाइने खुसीयालीमा केही व्यक्तिहरू साँझ दीपावली पनि गर्न सक्छन् तर सिङ्गो देश भने व्ल्याक–आउट भएको अवस्थामा फेरि गन्तव्यहीन बनेको छ ।

 

सम्बन्धित समाचार