नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ पुस ।
सर्वोच्च अदालतले ‘बिकिनी किलर’ र ‘सिरियल किलर’ जस्ता उपनामले चर्चा कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई छाड्न आदेश दिएको छ । बुधबार सर्वोच्चले शोभराजलाई छाड्न आदेश दिएको हो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबार शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको हो ।
‘अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र देश फर्काउन आवश्यक व्यवस्थासमेत गर्न यो आदेश जारी गरिएको छ’, सर्वोच्चको आदेशमा भनिएको छ, ‘सम्बन्धित जिल्ला अदालतमार्फत कारागार कार्यालय जगन्नाथ देवल काठमाडौँमा छिटो साधनद्वारा आदेशको जानकारी पठाइदिनु ।’
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा इजलासले यस्तो आदेश दिएको हो । १९ वर्ष कैद सजाय भोगिसकेको र वृद्ध भएको हुँदा उनले कानुनले दिएको सुविधा पाउनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । आदेशमा वृद्धको सुविधा दिएर छाड्न भनिएको छ । शोभराजले गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।
त्यस्तै आदेशमा शोभराजको उमेर ७५ वर्ष भइसकेको तथा मुटुसम्बन्धी रोगबाट पीडित भई उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत (१९ वर्ष) कैद सजाय भोगिसकेको देखिएको उल्लेख छ । फ्रान्सेली नागरिक शोभराजलाई सन् २००३ मा कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरी जिल्ला अदालत भक्तपुरले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
‘रिट निवेदक मुटुको रोगीको लागि ओपन हार्ट सर्जरी गर्नुपर्ने र हाल ७८ वर्षको वृद्ध देखिन्छ । कारागार नियमावली, २०२० को नियम २९ (२क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परि निको नहुने अवस्थामा पुगेको कैदीलाई ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको देखिन्छ । यो सुविधा विदेशी नागरिकलाई समेत दिन सकिने देखिन्छ । हाल निजले १९ वर्ष कैद अर्थात् ९५ प्रतिशत कैद सजाय भुक्तान गरिसकेको देखिन्छ ‘ सर्वोच्चको आदेशमा भनिएको छ ।
काठमाडौँ र भक्तपुर जिल्ला अदालतले शोभराजलाई फरकफरक मुद्दामा जन्मकैदको फैसला सुनाएको थियो । उनले ४६ वर्षअघि अमेरिकी महिला कोनी जो ब्रोनजिक र क्यानेडाली नागरिक लरेन्ट केरिरेको हत्या गरेको अभियोग लागेको छ । शोभराजमाथि नेपालबाहेक भारत, थाइल्याण्ड, इरान, टर्कीलगायत देशमा २० बढी मानिसको हत्या अभियोग लागेको छ ।
यस्तो छ अदालतको आदेश :