नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।
सत्ता साझेदार दलको बैठक सुरु भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको हो ।
बैठकमा सरकारको नीति कार्यक्रम, मन्त्रिमण्डल बिस्तार, प्रदेश सरकार गठन र सत्ता साझेदारीमा अन्य दललाई समेत सहभागी गराउने विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि बुधबार प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजावादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी छन् । गत पुस १० गते ७ दलको समर्थन जुटाएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।