नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।
नेपाली अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । उनले चलचित्र ‘ह्स्व दीर्घ’बाट नेपाली चलचित्रमा पुनरागमन गर्न लागेकी हुन् ।
अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘ह्स्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको चलचित्र निर्माण पक्षले जनाएको हो । त्यस्तै अभिनेत्री थापालाई चलचित्रसँग पुनः जोड्न पाउँदा खुसी लागेको चलचित्र निर्माण टोलीले जनाएको छ । ‘हामीले प्रस्ताव गर्दा नायिका थापा चलचित्रमा अभिनय गर्न तयार भएकी छिन् । कथाको काम सकिएसँगै छिट्टै छायाङ्कन थाल्छौँ’, निर्मात्री ढुङ्गानाले भनिन् ।
चन्द्र पन्तको निर्देशन रहेको चलचित्रमा विपनासहित ब्रह्मानन्दम, प्रदीपरामसिंह रावत, सुनिल कुमारलगायतको समेत अभिनय रहेको छ । भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपनाले चलचित्र ‘अपहरण’बाट अभिनय यात्रा थालेकी थिइन् । तर उनी चलचित्र ‘जन्मभूमि’ मार्फत स्थापित भएकी हुन्। उनले झण्डै ७० वटा चलचित्रमा अभिनय गरेकी छिन् । नायिका थापाले पछिल्लो पटक २०६७ सालमा चलचित्र ‘सङ्घर्ष जिन्दगीको’ मा अभिनय गरेकी थिइन् ।