आजदेखि बाहिरबाट ल्याइएका मोबाइल नचल्ने

नेपाल दूरसञ्चार प्राधिकरणले आज (शुक्रबार)देखि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ । एमडीएमएस प्रणाली लागू भएसँगै भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने भएका हुन् ।

यो प्रणालीमा दर्ता नभएका मोबाइललाई अवैध घोषणा गरेर मोबाइल नेटवर्क प्रयोग गर्न नमिल्ने बनाउन लागिएको छ । भन्सार छलेर अवैध रूपमा भित्रिएका मोबाइलको प्रयोग निरुत्साहित गर्ने उद्देश्यसहित सो प्रणाली सञ्चालनमा ल्याउन लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विगत एक हप्तायता सार्वजनिक सूचना नै जारी गरेर आजदेखि दर्ताबिनाका कुनै पनि मोबाइल प्रयोगमा रोक लगाइने जनाएको हो ।



प्राधिकरणको सूचनाअनुसार अबदेखि व्यावसायिक वा व्यक्तिगत रूपमा ल्याइएका मोबाइल यो प्रणालीमा अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ । विदेशबाट व्यक्तिगत रूपमा ल्याइने मोबाइल पनि भन्सार प्रज्ञापनपत्र घोषणा भएको हुनुपर्ने प्राधिकरणले जनाएको छ । त्यस्तो प्रज्ञापनपत्रलाई अनलाइनमार्फत एमडीएमएस प्रणालीमा दर्ता गरेर मात्र प्रयोग गर्न सकिने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

यद्यपि व्यक्तिगत रूपमा नेपाल ल्याउने मोबाइल पहिलो दुई हप्ता भने दर्ताबिनै प्रयोग गर्न सकिनेछ । सो अवधिभित्र दर्ता गरेमा मात्र दुई हप्तापछि पनि प्रयोग गर्न सकिने प्राधिकरणका निर्देशक डा सुरेन्द्रलाल हाडाले जानकारी दिए । दर्ताबिनै दुई हप्ता प्रयोग गर्न सकिने सुविधा भने खासगरी पर्यटकलाई समेत लक्षित गरेर उपलब्ध गराइएको प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार