नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।
बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । आज (बिहीबार) प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशमा नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान गरेका हुन् ।
शर्माले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न २५ गते सोमबार अपराह्न ४ बजेसम्मको समय सीमा तोकेका हुन् । कुनै एक दलको स्पष्ट बहुमत नभएकाले यस प्रदेशमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरिएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश सभामा ‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ ९/२५ गते सोमबार दिउँसो १६:०० बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आहृवान भएको छ ।’
११० सदस्य रहेको बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । प्रदेशसभामा सरकार गठनका लागि ५६ जना सांसद आवश्यक हुन्छ । बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि नेकपा एमालेका जगन्नाथ थपलिया, नेकपा माओवादी केन्द्रका शालिकराम जमकट्टेल र राप्रपाका उद्धब थापाले दाबी गरिरहेका छन् ।
विज्ञप्ति –