नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुस ।
सरकारले पुस २१ गते बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतनदीप ऐडीको परिवारलाई १०–१० लाख आर्थिक सहयोग गर्ने, कम्बोडियामा आगलागीका कारण मृत्यु भएका निराकर पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने र लागेको खर्च सरकारले नै व्यहोर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पत्रकार सम्मेलन गरी जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा झडपमा परेर मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतनदीप ऐडीको परिवारलाई १०–१० लाख आर्थिक सहयोग गर्ने निर्णय
कम्बोडियामा आगलागीका कारण मृत्यु भएका निराकर पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने र लागेको खर्च सरकारले नै व्यहोर्ने निर्णय
लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा आगामी माघ २५ गते उपनिर्वाचन गर्ने निर्णय
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्नका लागि व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय
अर्थ सचिवमा तोयमा राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय