नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्त्वपूर्ण विषय भएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूहरू सबै जनताको निरन्तर निगरानीमा रहेकाले उनीहरूको जीवनमा सार्थक परिवर्तन ल्याउन लागिपर्नुपर्ने बताए । ‘हामी फरक फरक राजनीतिक पार्टीबाट आएका छौँ तर जनताको सुशासन र विकास प्राप्तिको उद्देश्य भने साझा रहेका छन् । मलाई विश्वास छ हामी प्रतिक्रियाको हैन क्रियाको राजनीति गर्नेछौँ । हामी साझा प्रतिबद्धतामा एक ठाउँमा उभिने छौँ । हामी भर्खर जनताबाट आएका हौँ । त्यसैले जनताका गुनासा, चासो र चिन्तालाई हामीले अत्यन्तै नजिकबाट महशुस गरेका छौँ । हामीलाई समस्याहरु केलाएर बस्ने छुट छैन । समाधानको सुत्र खोज्नुछ र समाधानतिर अगाडि बढ्नुछ ’ प्रधानमन्त्री प्रचण्डले भने ।
त्यस्तै प्रधानमन्त्रीले समस्या केलाएर बस्ने छुट नभएको भन्दै समाधानको सूत्र खोज्नुपर्नेमा जोड दिँदै यो संसद आफूहरुको परीक्षाको केन्द्र भएको बताएका छन् । उनले प्रतिनिधसभा सार्थक संवादको थलो रहेको उद्घोष गरे ।