प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, कति मत पाए ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको विश्वासको मत पाएका छन् । आज (मंगलबार) मतदानमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

उनले प्रतिनिधि सभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन् । संविधानको धारा ७६ उपधारा (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ उपधारा (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् ।



प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्तावमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये मतदानमा २७० सांसदमात्रै सहभागी भएका थिए । दाहालले २६८ मत पाएका छन् भने उनको विपक्षमा २ मत खसेको थियो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले प्रचण्डको विपक्षमा मतदान गरेका थिए । प्रधानमन्त्री प्रचण्डलाई २६८ सदस्यको समर्थन रहेको छ ।

सदनमा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले मतविभाजनको नतिजा सार्वजनिक गर्दै नेपालको संविधान अनुसार प्रधानमन्त्री प्रचण्डले सदनबाट विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए ।

 

सम्बन्धित समाचार