सत्ता साझेदार दलको बैठक बस्दै, के आउँला निर्णय ?

सत्ता साझेदार दलहरुको बैठक बस्दै छ । आज(बिहीबार) अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको हो ।

प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्नको लागि सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन लगायत विषयमा छलफल हुने बताइएको छ ।



प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । त्यस्तै मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा हिजो प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीबीच छलफल पनि भएको थियो ।

छलफलमा समसामयिक राजनीतिक तथा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।संविधानको सीमाअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने भएकाले साझेदार दलहरुको आकारअनुसार संख्या र विभागीय मन्त्रालय बाँडफाँट गर्ने तयारी छ ।

सम्बन्धित समाचार