नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी र प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीलेले प्रदेशसभामा विश्वासको मत लिँदै छन् । आज (शुक्रबार) अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ ।
नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेपछि उहाँलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
अधिकारीलाई एमालेका २२, नेकपा ९माओवादी केन्द्र०का आठ, राप्रपाका दुई र स्वतन्त्र निर्वाचित राजीव गुरुङले समर्थन गरेका छन् । मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने र बिनाविभागीय मन्त्रीको मन्त्रालय तय गर्ने योजनामा छन् ।
हाल गण्डकीमा मुख्यमन्त्रीसहित चार मन्त्री नियुक्त भए पनि मन्त्रालयको टुङ्गो भने लाग्न सकेको छैन । एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्रीमा नियुक्त भएका थिए ।
हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदै
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
एमाले संसदीय दलका नेता कार्की संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले नेपालको संविधान धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री कार्कीले आज शुक्रबार नै विश्वासको मत लिनुअघि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत गरेका छन् । यसअघि नै प्रदेश १ मा ४ सदस्यीय मन्त्रिपरिषद् गठन भैसकेको छ ।