मन्त्रिपरिषद् विस्तार, माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक मन्त्री थपिए (सूचीसहित)

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं र नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री थपेका हुन् । तीनै जना नियुक्त मन्त्रीहरु विनाविभागीय मन्त्री हुन् । यसअघि मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।



आज प्रदेश सभामा विश्वासको मत लिनु अघि मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । एमाले संसदीय दलका नेता कार्की संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादी केन्द्र, राप्रपा र जसपाकोसहित आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले नेपालको संविधान धारा १६८ (४) तथा प्रदेश सभा नियमावलीको नियम १२८(१) र (२) बमोजिम विश्वासको मत लिन लागेका हुन् । विश्वासको मतको लागि मुख्यमन्त्री नियुक्त भएका कार्कीले कम्तिमा ४७ संसदको समर्थन आवश्यक पर्दछ ।

सम्बन्धित समाचार