प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।

भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सोही दिन सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । संसदमा विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । उनले पुस २६ गते मंगलबार संसदमा विश्वासको मत प्राप्त गरेका थिए ।



त्यस्तै भेटमा प्रतिनिधिसभाको सभामुखको निर्वाचन विषयमा पनि कुराकानी भएको थियो । आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुखको निर्वाचन हुँदैछ । नेपालको संविधानको धारा ९१ को उपधारा (१) मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार