म्यानचेस्टर युनाईटेड विजयी हुँदा लिभरपुल पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड विजयी हुँदा लिभरपुल पराजित भएको छ । शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले म्यानचेस्टर सिटीलाई २-१ ले पराजित गर्दा लिभरपुल भने ब्राइटनसँग ३-० ले स्तब्ध भएको हो ।

म्यानचेस्टर युनाईटेडको घरेलु ओल्ड ट्राफोर्डमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ६० औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए । तर, खेलको ७८ औं मिनेटमा म्यानचेस्टर युनाईटेडका ब्रुनो फर्नान्डेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।



म्यानचेस्टर युनाईटेड

त्यसपछि खेलको ८२ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै घरेलु टोलीलाई २-१ को जित दिलाए । जितसँगै म्यानचेस्टर युनाईटेड १८ खेलमा ३८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ भने ३९ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै इंग्लिस प्रिमियर लिग फुटबलमा अन्तर्गत नै शनिबार राति भएको अर्को खेलमा लिभरपुल ब्राइटनले ३-० ले पराजित हुन पुग्यो । ब्राइटनको जितमा सोली मार्चले २ गोल गरे भने ड्यानी वेल्बकको नाममा एक गोल रह्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा ब्राइटनले उत्कृष्ट पुनरागमन गर्दै ३ गोल गरेको हो ।

खेलको ४६ औं मिनेटमा मार्चले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ५३ औं मिनेटमा मार्चले गोल गर्दै गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८१ औं मिनेटमा वेल्बेकले गोल गर्दै ब्राइटनलाई ३-० को शानदार जित दिलाए ।

ब्राइटन

जितसँगै ब्राइटन १८ खेलमा ३० अंक जोड्दै सातौं स्थानमा छ भने समान खेलमा २८ अंक जोडेको लिभरपुल आठौँ स्थानमा रहेको छ । यसैगरी प्रिमियर लिग अन्तर्गत नै शनिबार राति भएको अन्य खेलमा साउथह्याम्पटनले एभर्टनलाई २-१ ले पराजित गरेको छ भने लेस्टर सिटी नटिङघम फरेस्टसँग २-० ले पराजित हुँदा उल्भ्सले वेस्ट ह्यामलाई १-० ले हराएको छ ।

सम्बन्धित समाचार