प्रधानमन्त्री शाहसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट

प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फस्र्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यबद्धता जनाउनुभएकामा समेत आभार व्यक्त गर्नुभयो । प्रधानमन्त्री शाहले नेपालको खेलकुदको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि चासो राख्नुभएको थियो ।

त्यस अवसरमा भारतीय विदेशसचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराउनुभएको थियो । उहाँले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल हुने गरी आफूहरुले तयारी गरिरहेको बताउनुभएको थियो ।

साथै, भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल तथा भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।

भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पुगेको उहाँले प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभयो । आजै उक्त मार्गमा रेल परीक्षण सञ्चालनसमेत भएको उहाँले बताउनुभयो ।(रासस)

सम्बन्धित समाचार