नवकान्तिपुर संवाददाता
काठमाडौं, २ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (सोमबार) ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।
करिब ५ घण्टा चलेको छलफलमा वर्तमान राजनीतिक परिवेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । त्यस्तै भेटमा आउँदो बुधबार हुने सभामुख निर्वाचनको विषयमा पनि छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारले पूर्णता पाउने विषय आजै टुङ्गो लाग्ने बताएका छन् । उनले सभामुख र राष्ट्रिपतिका विषयमा भने विश्वासको मत दिने सबै पार्टीसँग भोलि सर्वदलीय बैठक बसेर निर्णय गर्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकार विस्तारबारे आजै टुंगिन्छ । भोलि विश्वासको मत दिने सबै पार्टीसँग भोलि सर्वदलीय बैठक छ । भोलि थाहा हुन्छ ।’
पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् बिस्तारको गृहकार्यमा छन् । आइतबार साँझ पनि उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।