नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ माघ ।
नेकपा एमालेले आफ्नो भागमा परेको ८ मध्ये ४ मन्त्रीको नाम टुंगो लगाएको छ । नेकपा एमालेले चार मन्त्री र २ राज्यमन्त्री पठाउने निर्णय गरेको छ ।
एमालेले मन्त्रीको रुपमा विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेतीलाई पठाउन लागेको हो । उनीहरू चारै जना यसअघि मन्त्री बनेका थिएनन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता साझेदार दलबीचको छलफलमा एमालेले ८ मन्त्री र २ राज्यमन्त्री पाउने गरी सहमति भएको थियो ।
त्यस्तै एमालेले दुई राज्यमन्त्रीका रूपमा रौतहटका किरण साह र पर्साका राजकुमार गुप्तालाई मन्त्रिपरिषद् विस्तारमा पठाउने भएको छ । यस्तै एमालेकी विमला राई पौड्यालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने निश्चित भएको छ भने अन्यलाई के जिम्मेवारी दिने भन्नेबारे टुंगो लागेको छैन । यसअघि एमालेबाट विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्री भइसकेका छन् ।