जिल्ला अदालत तनहुँबाट पल शाहले पाए सफाइ

जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले अभिनेता पल शाहलाई सफाइ दिएको हो ।

बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको जिल्ला अदालत तनहुँका श्रेष्तेदार मीन बहादुर कुँवरले बताए । शाहमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो ।



तर नवलपुरले भदौ २१ गते शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा भने साढे दुई वर्षको कैद सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । नवलपुर अदालतको फैसलाविरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

गत फागुन ११ गते बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । शाह फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।

सम्बन्धित समाचार