नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ माघ ।
प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने भएका छन् । नेकपा एमालेले झापाका देवराज घिमिरेलाई उम्मेदवार बनाएको हो ।
घिमिरे गत मंसिरमा भएको निर्वाचनमा झापा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । त्यस्तै नेपाली कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी दिने निर्णय संसदीय दल कार्यसमितिको बैठकबाट गर्ने भएको छ ।
आज (बुधबार)सभापति एवं पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सभामुख पदमा अन्य दलसँग पनि सल्लाह गरेर उम्मेद्वारी दिने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । यससम्बन्धी औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दल कार्यसमितिका पदेन सदस्यहरुको बैठक दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने पनि उनले बताए ।
सभामुखका लागि आज १ बजेदेखि ४ बजेसम्म मनोनयनको समय तोकिएको छ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुने छ । निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता अनुसारको सूची बुधबार नै दिउँसो ४.१५ बजे प्रकाशित गरिने छ । प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन् । सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।
सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने सवैधानिक व्यवस्था छ ।सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ ।